कालीगण्डकी नदीमा बाढी: पर्वतको जलजलामा २५ घर बगे, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं। कालीगण्डकी नदीमा आएको भीषण बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका-८ फर्सेका २५ वटा घर बगाएको छ। आज बिहान करिब ८ बजे नदीको बहाव एक्कासि बढेर बस्तीतर्फ सोझिएपछि ठूलो भौतिक क्षति भएको हो।
नेपाल प्रहरीका अनुसार करिब ८० घरधुरी रहेको उक्त बस्तीका २५ घर बाढीले पूरै बगाएको छ भने बाँकी घरहरू पनि बाढी र कटानका कारण उच्च जोखिममा परेका छन्।
नदीको सतह एक्कासि बढेपछि स्थानीयमा भागदौड मच्चिएको थियो। समयमै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
लगातारको वर्षाका कारण ग्रामीण सडकहरूमा पहिरो खसेर बाटो अवरुद्ध भएकाले उद्धारका लागि प्रहरी टोलीलाई घटनास्थल पुग्न निकै कठिनाइ भइरहेको छ। घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ।
जलजला क्षेत्रमा लगातार भइरहेको अविरल वर्षाका कारण माथिल्लो तटीय क्षेत्रबाट लेदोसहितको बाढी आउँदा कालीगण्डकीको सतह उच्च बनेको छ।
बाढीले फर्से क्षेत्रमा खेतीयोग्य जमिनसमेत कटान गरिरहेको छ। प्रहरी र स्थानीय जनप्रतिनिधिहरूले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेका छन्।
बाढीबाट भएको थप क्षतिको विस्तृत विवरण संकलन गर्ने र प्रभावितहरूलाई राहत तथा सुरक्षित बासस्थानको व्यवस्था मिलाउने काम भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment