मोबाइल सेवाको गुणस्तर सुधार र ५ जी विस्तार गर्न प्राधिकरणको निर्देशन, गुनासो सुन्न ‘एआई’ प्रयोग गर्नुपर्ने
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले देशमा सञ्चालित मोबाइल सेवा प्रदायकहरूलाई सेवाको गुणस्तर सुधार गर्न, देशभर ४जी सेवाको पहुँच बढाउन र ५जी सेवा सञ्चालनका लागि चरणबद्ध योजना पेस गर्न कडा निर्देशन दिएको छ।
दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम ग्राहक हित संरक्षण, स्पेक्ट्रमको प्रभावकारी उपयोग र नियामकीय अनुपालनका लागि प्राधिकरणले प्रवक्ता मिन प्रसाद अर्यालद्वारा जारी विज्ञप्ति मार्फत यो निर्देशन दिएको हो।
प्राधिकरणले सेवा प्रदायकहरूलाई सेवाको गुणस्तर र नेटवर्कको विश्वसनीयता बढाउँदै तोकिएका सूचकहरू पूरा भए/नभएको सम्बन्धी नियमित प्रतिवेदन बुझाउन भनेको छ।
ग्राहकका गुनासो सुनुवाइलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नवीनतम प्रविधिको प्रयोग गर्न तथा नियमित रूपमा ग्राहक सन्तुष्टि सर्वेक्षण सञ्चालन गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, गुणस्तरीय सेवा नपुगेका क्षेत्रमा प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न र दूरसञ्चार सेवा पुगेका स्थानहरूको विवरण कम्तीमा त्रैमासिक रूपमा नेपालको नक्सामा अद्यावधिक गर्नुपर्नेछ। देशभर ४जी सेवाको स्तरोन्नति गर्दै प्रमुख शहरहरूबाट ५जी सेवा सुरु गर्नका लागि स्पष्ट योजना पेस गर्न पनि ताकेता गरिएको छ।
राष्ट्रिय स्रोतको रूपमा रहेको फ्रिक्वेन्सीको अधिकतम उपयोग गर्न र पूर्वाधारको दोहोरो लगानी घटाउनका लागि सहकार्य गर्न प्राधिकरणले आग्रह गरेको छ। अनुदान प्राप्त परियोजनाहरू द्रुत रूपमा कार्यान्वयन गरी प्रगति विवरण बुझाउनुका साथै साइबर सुरक्षाका लागि नियमित सेक्युरिटी अडिट र विपद् व्यवस्थापन योजना तयार गर्न निर्देशन दिइएको छ।
साथै, वैज्ञानिक र पारदर्शी शुल्क प्रणालीका लागि लागतमा आधारित विश्लेषण गरेर मात्र नयाँ शुल्कको प्रस्ताव पेस गर्न सेवा प्रदायकहरूलाई भनिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment