वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध

डिसी नेपाल
२३ साउन २०८३ १५:०५

काठमाडौं। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक भासिँदा राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार शनिबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाका महत्वपूर्ण सडकखण्डमा यातायात प्रभावित भएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाउने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ। यहाँ बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

इलामको मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९, राजदुवालीमा वर्षाका कारण सडक हिलो भएर सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था बनेपछि सडक अवरुद्ध भएको हो। उक्त स्थानमा वैकल्पिक बाटो भने रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेको, वडा नं. २ कोदारीमा इकु पहिरोबाट ढुंगा, माटो र लेदो सडकमा खसेको तथा लिपिङमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो।

रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैगरी, रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुंगा, माटो र लेदो खसेपछि जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डअन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिका–१, निलदोर्जेको रमाइलोडाँडामा पहिरो खसेपछि पर्यटकीय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, तेह्रथुमको मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। लालीगुराँस नगरपालिका–९ काडेमा पिङवा खोलानजिक करिब ३०–३५ मिटर माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

विभिन्न सडकखण्डमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले प्रहरीले यात्रु तथा सवारीचालकलाई आवश्यक सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *