वैदेशिक रोजगारी र रित्तिँदै गरेका गाउँको कथामा हेमन्त रानाको ‘सुन कुरा’
काठमाडौं। रोजगारीको खोजीमा मातृभूमि छाड्न बाध्य नेपाली युवा र उनीहरूका परिवारको मर्मस्पर्शी कथा समेटिएको गायक हेमन्त रानाको नयाँ गीत ‘सुन कुरा’ सार्वजनिक भएको छ।
हेमन्त रानाकै शब्द, सङ्गीत र स्वरमा सजिएको यो गीत वैदेशिक रोजगारीका कारण गाउँघर रित्तिँदै गएको सामाजिक यथार्थमा आधारित छ। तन्नेरी पुस्ता बाहिरिएपछि गाउँमा एक्लािएका वृद्ध आमाबुबाको अवस्था, बढ्दो बसाइँसराइले निम्त्याएको भावनात्मक तथा सामाजिक प्रभाव र वातावरणमा परेको असरलाई गीतले संवेदनशील रूपमा प्रस्तुत गरेको छ।
गीतबारे बोल्दै गायक रानाले समग्र कला क्षेत्रले समाजको प्रतिनिधित्व गर्ने बताउँदै भने, “आजभोलि गाउँघरमा वृद्धवृद्धा, महिला र बालबालिकाबाहेक युवा पुस्ता खासै देखिँदैनन्, कतिपय गाउँ त प्रायः रित्तिइसकेका छन्। यही सामाजिक यथार्थको सानो कथा बोकेर यो गीतमार्फत प्रस्तुत भएको हुँ। मेरो यो प्रयास र समाजको भावनालाई दर्शक-श्रोताले महसुस गर्नुहुनेछ भन्ने आशा छ।”

गीतमा कोबिद बज्रको म्युजिक प्रोडक्सन तथा मिक्सिङ-मास्टरिङ, बिकेश बज्रको स्ट्रिङ एरेन्जमेन्ट तथा रेकर्डिङ, निशाद श्रेष्ठको चेलो र रोमन बुढाथोकीको भायोलिन रहेको छ।
हेमराज बीसीको निर्देशनमा बनेको भिडियोमा विजय बराल, रक्षा थापा र मणि के. राईले सशक्त अभिनय गरेका छन्। शैलेन्द्र डी. कार्कीको छायाङ्कन रहेको भिडियोलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।
यसअघि चर्चित गीत ‘सुन साइँली’मार्फत वैदेशिक रोजगारीको पारिवारिक पीडा पोखेका रानाले ‘सुन कुरा’मा भने युवाविहीन गाउँ, एक्लिँदै गएका अभिभावक, बदलिँदो सामाजिक संरचना र प्रकृतिमा परेको असरलाई अर्को कोणबाट उठाएका छन्। योसँगै ‘सुन कुरा’ सामाजिक सरोकारका विषय पस्कने रानाको साङ्गीतिक यात्राको अर्को निरन्तरता बनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment