जंगलमा हराएपछि ‘बचाइहाल’ भन्दै फोन गरेका पूर्वमेयर सिंह सम्पर्कविहीन

डिसी नेपाल
२३ साउन २०८३ २०:२९

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह जंगलमा बाटो बिराएर सम्पर्कविहीन भएका छन्।

शुक्रबार बिहान घरबाट कृषि फार्ममा जाने भनी निस्किएका सिंहको खोजी कार्य व्यापक रूपमा जारी रहे पनि हालसम्म भेटिन सकेका छैनन्।

पूर्व–पश्चिम राजमार्गदेखि अन्दाजी ८ किलोमिटरभित्र गोरूसिंगेस्थित जंगलमा उनको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल लावारिस अवस्थामा फेला परेको छ।

शुक्रबार दिउँसो व्यावसायिक साझेदार र स्थानीय व्यक्तिहरूलाई फोन सम्पर्क गर्दै सिंहले घना जंगलमा बाटो बिराएको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। तिलौराकोट साझेदारी समूहका सदस्य बलराम तिवारीसँग बेलुकी ५ बजेतिर भएको १०–११ सेकेन्डको संक्षिप्त कुराकानीमा उनले ‘बाबु बचाइहाल–बचाइहाल’ मात्र भनेर फोन काटेका थिए।

यसैगरी वडाध्यक्ष मुहम्मद जहिद खाँले ५ बजेर ३२ मिनेट जाँदा गरेको २२ सेकेन्डको संवादमा पनि पूर्वमेयर सिंहको स्वाँस अत्यधिक फुलेको र उनी निकै आत्तिएको सुनिएको थियो। त्यसको केही समयपछि अर्थात् शुक्रबार बेलुकी पौने ६ बजेदेखि उनको मोबाइलको नेटवर्क अफ भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

परिवारका अनुसार उच्च रक्तचाप र दमका पूराना बिरामी रहेका सिंह धेरै हिँड्न सक्ने अवस्थामा छैनन्। जिल्ला प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टका अनुसार बेपत्ता सिंहको खोजीका लागि नेपाल प्रहरी, तालिमप्राप्त कुकुरसहितको विशेष टोली र स्थानीय बासिन्दा गरी एक सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी र नागरिक परिचालन गरिएको छ।

सिंहको घरबाट लगिएका पूराना कपडा सुँघाएर कुकुरको सहायताले जंगलमा उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *