प्रतिनिधिसभा बैठक बस्दै: चार विधेयक प्रस्तुत हुने
काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
आजको बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने तयारी गरिएको छ।
जसअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन्। त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
यसै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
साथै, प्रधानमन्त्रीकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्तावसमेत पेस गर्नेछिन्।
प्रतिनिधिसभा बैठकका अलावा आजै विभिन्न चारवटा संसदीय समितिहरूका बैठकसमेत बस्दै छन्।
बिहान ९:०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुँदैछ। त्यस्तै बिहान १०:०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।
यसैगरी, बिहान ११:३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा छलफल हुनेछ भने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका विषयमा छलफल हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment