युवा पुस्ताले खोजेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसरमा केन्द्रित हुनुपर्नेमा जोड

डिसी नेपाल
२८ साउन २०८३ ८:१४

नारायणगढ, चितवन। चितवनका युवाले राजनीति र उद्यमशीलतालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले आयोजना गरेको कार्यक्रममा सहभागी युवाले भाषणमा सीमित नभई परिणाममुखी, प्रविधिमैत्री र उद्यमशील राजनीतिक संस्कार आवश्यक रहेको बताएका हुन्।

‘मेरो पुस्ताको राजनीति कस्तो हुनुपर्छ ?’ विषयमा आयोजित वक्तृत्वकला, ‘कृषि उद्यमशीलता र युवा समृद्ध नेपालको आधार’ विषयक विचार–विमर्श तथा सांसदसँग युवा संवाद कार्यक्रममा युवाले राजनीतिमा युवा सहभागिता मात्र नभई नीति निर्माण र कार्यान्वयनमा समेत युवाको अर्थपूर्ण भूमिका सुनिश्चित गर्नुपर्ने बताएका छन्।

युवाले राजनीति जनताको सेवा गर्ने माध्यम बन्नुपर्ने भन्दै प्रविधिमैत्री सेवा, चुस्त प्रशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनीहरुले राजनीति फोहोरी खेल नभई जनताको विश्वास र माया जित्ने माध्यम बन्नुपर्ने धारणा राखेका छन्।

‘जेनजी’ पुस्ताले खोजेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसरसँग जोडिएको युवाहरुको भनाइ थियो। राजनीतिमा सहभागिता मात्रै पर्याप्त नभएको भन्दै नीति तथा नियम निर्माणमा समेत युवाको भूमिका स्थापित गर्नुपर्ने उनीहरुले बताएका छन्।

युवाले राजनीतिमा पारदर्शिता, जवाफदेहिता, समावेशिता र सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने, प्रविधिको पहुँच सबै नागरिकसम्म पुर्‍याउनुपर्ने तथा आगामी पुस्तालाई सहयोग पुग्ने किसिमका नीति निर्माण गर्नुपर्ने माग गरेका छन्। सरकारलाई पूर्णरुपमा डिजिटल र पारदर्शी बनाइनुपर्ने, शिक्षा जीवनका समस्या समाधान गर्न सक्ने खालको हुनुपर्ने, अनुसन्धानमा लगानी बढाउनुपर्ने र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्।

रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दै रेमिट्यान्समा मात्रै निर्भर हुने अर्थतन्त्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने युवाहरुको धारणा थियो। स्वदेशमै उद्यमशीलता र रोजगारीका पर्याप्त अवसर सिर्जना गरेर युवालाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनीहरुले बताएका छन्।

दश जना युवाको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा अमृत ढकाल प्रथम, निरिता पौडेल द्वितीय र आयुस्मा श्रेष्ठ तृतीय भएका छन्।

कार्यक्रममा पत्रकार विवेक पोखरेलले कृषिविज्ञ डा. भानेश्वर पोखरेल, भवानी डेरीका सञ्चालक सुवास पौडेल तथा चितवनमा सयपत्रीलगायत फूलको व्यवसायिक खेती गर्दै आएकी सुजाता देवकोटासँग कृषि उद्यमशीलताबारे विचार–विमर्श गरेका थिए।

विचार–विमर्शका क्रममा कृषि क्षेत्रलाई सम्मानित र आकर्षक व्यवसायका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो। आधुनिक प्रविधि, अनुसन्धान र बजार व्यवस्थापनमा लगानी बढाउँदै युवा तथा शिक्षित जनशक्तिलाई कृषि उद्यमशीलतासँग जोड्न सके कृषि क्षेत्रमार्फत आत्मनिर्भरता हासिल गर्न सकिने सहभागीहरुको भनाइ थियो।

चितवन क्षेत्र नं. १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले युवाले काम गर्दै जाँदा भएका त्रुटिबाट सिकेर अघि बढ्नुपर्ने बताए। गल्ती गर्नै हुँदैन भन्ने मानसिकताभन्दा गल्तीबाट सिक्दै लगनशीलताका साथ अघि बढ्ने संस्कार आवश्यक रहेको उनको भनाइ थियो।

काम गर्नेहरुलाई सिर्जनात्मक खबरदारी आवश्यक रहेको बताउँदै ढकालले खबरदारी, कार्यसम्पादन र भाषण फरक विषय भएको उल्लेख गरे। राजनीतिक नेतृत्वले भाषणभन्दा काम र त्यसबाट प्राप्त हुने नतिजामा ध्यान दिनुपर्ने उनले बताए।

सांसद प्रभा ढकालले स्थानीय तहलाई थप जवाफदेही बनाउनुपर्ने बताइन्। सांसदहरु मुख्यतः नीति तथा नियम निर्माणमा केन्द्रित हुने र आवश्यकताअनुसार सम्बन्धित विषयमा भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो।

रास्वपा चितवनका जिल्ला सभापति इन्जिनियर मिनिमाधव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य सविना विक, आकांक्षा पोखरेल र पवित्रा थापा, जिल्ला सचिव तेजेन्द्रप्रसाद पौडेल, उपसभापति निर्मला गिरी, जिल्ला सहसचिव कुशल पाठकलगायत सहभागी थिए। कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य, क्षेत्रीय सभापति, जिल्ला कार्यसमिति तथा पालिका र वडा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *