राष्ट्रियसभामा सांसदहरूको प्रश्न: खाना पकाउने ग्यासको कृत्रिम अभाव र कालोबजारी कहिलेसम्म?

डिसी नेपाल
२८ साउन २०८३ १४:२७

काठमाडौं। राष्ट्रियसभाका सांसदहरूले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भई आम नागरिक मारमा परेको भन्दै सो समस्याको तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद विष्णुदेवी पुडासैनी र कृष्णप्रसाद अधिकारीले ग्यासको चरम अभावका कारण घर-घरमा चुलो बाल्न नसक्ने अवस्था आएको बताए। उनीहरूले बजारमा कालोबजारी बढेकाले अनुगमनलाई तीव्र बनाएर दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।

बैठकमा सांसदहरूले अन्य समसामयिक तथा जनजीविकाका विविध विषयमा पनि जोडदार आवाज उठाएका छन्। सांसद घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्।

त्यस्तै, पाकिस्तानको हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित छ जना नेपाली र अन्य तीन जनाको निधन भएको दुःखद घटनाप्रति सांसद रुक्मिणी कोइरालाले गहिरो शोक र दुःख व्यक्त गरिन्।

यसैगरी उपत्यकाको समस्याका सन्दर्भमा सांसद विष्णुकुमारी सापकोटाले मनपरी भाडा असुलिने क्रम रोक्न काठमाडौँमा व्यवस्थित घर तथा कोठा भाडा नीति बनाएर निश्चित दर तोक्न आग्रह गरिन्।

उता सांसद पदमबहादुर परियारले तनहुँ हाइड्रो निर्माणका क्रममा सेती नदीको बहाव परिवर्तन भई उत्पन्न समस्या समाधान गर्नुपर्नेमा जोड दिए भने सांसद रेनु चन्दले कञ्चनपुरका आरक्ष पीडितको समस्या दर्जनौँ आयोग बन्दा पनि हल नभएको भन्दै आक्रोश व्यक्त गरिन्।

यसैबीच सांसद विष्णुबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ गाउँपालिकामा स्थानीयवासीमाथि बिनाकारण गरिएको धरपकडको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *