चितवनमा डेंगु र स्क्रब टाइफसको जोखिम: साउनमा ३८ जनामा संक्रमण पुष्टि
चितवन। चितवनमा मनसुन सक्रिय भएसँगै कीटजन्य रोगको जोखिम बढेको छ। चालु साउन महिनामा मात्रै जिल्लामा दुई जनामा डेंगु र छ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका स्थानीय बासिन्दामध्ये कालिका नगरपालिकाकी एक महिला र इच्छाकामना गाउँपालिकाका एक पुरुषमा डेंगु देखिएको छ। त्यसैगरी, भरतपुर महानगरपालिकाका पाँच जना (एक पुरुष र चार महिला) तथा रत्ननगर नगरपालिकाका एक पुरुष गरी छ जनामा स्क्रब टाइफस पुष्टि भएको हो।
उपचारका लागि छिमेकी जिल्लाहरूबाट चितवन आएका बिरामीसहित गणना गर्दा यस महिना डेंगु संक्रमितको संख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ। साउनमा हालसम्म १७८ जनाको डेंगु र २११ जनाको स्क्रब टाइफस परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण देखिए पनि हालसम्म दुवै रोगका कारण कुनै मानवीय क्षति (मृत्यु) भएको छैन।
सङ्क्रमण फैलिन नदिन जनस्वास्थ्य कार्यालयले स्थानीय तहहरूसँगको समन्वयमा ‘लार्भा खोज र नष्ट गर’ अभियानका साथै जनचेतनामूलक कार्यक्रमहरू सुरु गरेको छ। इच्छाकामना गाउँपालिकाबाट सुरु गरिएको यो अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरूको टोली खटिएको छ।
जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले वर्षायाम लामखुट्टेको प्रजननका लागि अनुकूल समय भएकाले घर, आँगन, गमला, पुराना टायर तथा वरपर पानी जम्न नदिन आग्रह गरेका छन्। साथै, खेतबारी वा झाडीमा काम गर्दा किर्नाको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउन र सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा चितवनमा बाहिरी जिल्लाका बिरामीसमेत गरी कुल २७४ जनामा डेङ्गु र ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण भेटिएको थियो, जसमध्ये सबैभन्दा बढी प्रभावित रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिका भएका थिए। स्वास्थ्यकर्मीहरूले ज्वरो आउने, टाउको वा शरीर दुख्ने र बिमिरा निस्कने जस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन अपिल गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment