सरकारको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख: केपी ओली

डिसी नेपाल
३१ साउन २०८३ १३:१८

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको दाबी गरेका छन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको बताए।

प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै उनले सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गर्दै नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षतासमेत नरहेको टिप्पणी गरे।

अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको उल्लेख गर्दै ओलीले खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा पनि दिन नसक्ने जिकिर गरे।

सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गर्दै ओलीले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाए।

सम्बोधनका क्रममा ओलीले सरकारले जे गर्न सक्थ्यो त्यही गरिरहेको र जानेकाले गर्ने ठाउँमा अनुभवहीन व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आएको बताए।

साथै वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभाको कार्यकाल बाँकी हुँदै असंवैधानिक ढंगले विघटन गरेर चुनावको नाटक गरिएको भन्दै यसको जवाफ जनताले खोज्नुपर्ने धारणा राखे।

ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *