जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

डिसी नेपाल
१ भदौ २०८३ ११:३२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको जनाएको हो ।

पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरिएको जसपा नेपालले जनाएको छ । समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतमा सरकारको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशनसमेत दिएको छ ।

मुख्यमन्त्री आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका बेला जसपा नेपालको समर्थन फिर्ता भएको हो । यसअघि सत्ता साझेदार नेपाली कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनी प्रदेशसभामा विभिन्न दलको समर्थनमा बनेको एमाले नेतृत्वको सरकारमा पछिल्लो समय सत्ता समीकरण परिवर्तन भएसँगै राजनीतिक अन्योल बढेको छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

जसपा नेपालले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यलाई विश्वासको मत जुटाउन थप चुनौती देखिएको छ । अब प्रदेशसभामा रहेका दलहरूको समर्थन र विपक्षमा मतदान गर्ने सांसदहरूको संख्याले सरकारको भविष्य निर्धारण गर्नेछ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न नसके लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *