देउवा पक्षीय भेलालाई सभापति गगन थापाले आज जवाफ दिने

डिसी नेपाल
१ भदौ २०८३ १२:४०

काठमाडौं । विशेष महाधिवेशनको माग अस्वीकार गर्दै छुट्टै राष्ट्रिय भेला गरेका नेपाली कांग्रेसका देउवा पक्षीय नेताहरूलाई पार्टी सभापति गगनकुमार थापाले सोमबार जवाफ दिने भएका छन् ।

सानेपामा गत आइतबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकको समापन पनि सोमबार हुँदैछ । यही बैठकमार्फत सभापति थापाले संस्थापन इतरपक्षीय नेताहरूले आफूमाथि उठाएका प्रश्न तथा राष्ट्रिय भेलाले पारित गरेको पाँचबुँदे निर्णयबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

देउवा पक्षीय नेताहरूले विशेष महाधिवेशनको मागलाई अस्वीकार गर्दै मिराकल पार्टी भेन्युमा छुट्टै राष्ट्रिय भेला आयोजना गरेका थिए । उक्त भेलाबाट पार्टीको पछिल्लो अवस्था, नेतृत्वको कार्यशैली तथा विशेष महाधिवेशनको विषयमा विभिन्न प्रश्न उठाउँदै पाँचबुँदे निर्णयसमेत सार्वजनिक गरिएको थियो ।

सभापति थापाले आइतबार एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै संस्थापन इतरपक्षीय नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाबारे आफूले सोमबार पार्टी कार्यालयबाटै जवाफ दिने बताएका थिए ।

कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । एक पक्षले पार्टीको वर्तमान अवस्थालाई सम्बोधन गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताउँदै आएको छ भने संस्थापन पक्षले नियमित महाधिवेशनको प्रक्रियाबाटै पार्टीका समस्या समाधान गर्नुपर्ने धारणा राख्दै आएको छ ।

यही विवादका बीच छुट्टै राष्ट्रिय भेला आयोजना भएपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक विवाद थप सतहमा आएको हो । सोमबार बस्ने केन्द्रीय समिति बैठकको समापनसँगै सभापति थापाले इतरपक्षका नेताहरूको भेलाबाट उठाइएका प्रश्न र पाँचबुँदे निर्णयबारे दिने जवाफलाई कांग्रेसको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण रूपमा हेरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *