राधेराधेमा वर्षौँदेखि अलपत्र १७ तले भवनको अवस्था सार्वजनिक गर्न सांसद खत्रीको माग

डिसी नेपाल
२ भदौ २०८३ १२:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको १७ तले भवनको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे सरकारले तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खत्रीले भक्तपुर घुम्न जाने जोकोहीले दरबार स्क्वायर पुग्नुअघि राधेराधे चोकमा वर्षौँदेखि खण्डहरजस्तै बनेर उभिएको उक्त भवन देख्ने गरेको बताए।

करिब दुई दशकअघि व्यापारिक केन्द्र र रोजगारीको ठूलो सम्भावना बोकेको उक्त परियोजनाको मुख्य संरचना निर्माण भइसकेपछि किन रोकियो भन्ने प्रश्न अझै अनुत्तरित रहेको उनले बताए।

उनले भने, ‘भक्तपुर घुम्न जाँदा दरबार स्क्वायर भन्दा पहिला जोकोहीले राधे राधे चोकमा वर्षौँदेखि खण्डहर बनेर मौन उभिएको भवन देख्नुहुन्छ । निर्माणकै क्रममा रोकिएको उक्त १७ तले विशाल भवनले सबैलाई चकित बनाउँछ । कुरूप दृश्यले धेरैको ध्यान तान्छ, गिज्याउँछ । दुई दशकअघि व्यापारिक केन्द्र र रोजगारीको ठूलो सम्भावना बोकेको यो परियोजना मुख्य संरचना बनेपछि किन रोकियो भन्ने प्रश्न आजसम्म अनुत्तरित छ। परियोजना कानूनी प्रक्रियामा छ भने त्यसको अवस्था के हो, निर्माण रोकिएको कारण के हो, लगानीकर्ता र साझेदार को हुन, यसको भविष्यबारे सरकारसँग के योजना छ?’

खत्रीले परियोजना कानुनी प्रक्रियामा भए त्यसको अवस्था, निर्माण रोक्नुको कारण तथा लगानीकर्ता र साझेदारबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताए।

उनले भने,‘दैनिक हजारौंले देख्ने यो भवन केवल अधुरो संरचना होइन । राज्य र निजी क्षेत्रको जावाफदेहीतामाथिको प्रश्न पनि हो । त्यसैले सरकारसँग यो परियोजनाको कानूनी, आर्थिक, प्राविधिक अवस्थाबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्न र सम्भव भए निर्माण पुनः सुरु गर्ने ठोस पहल गर्न माग गरे।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *