गृहमन्त्री गुरुङले गरे ललितपुर महानगरको प्रशंसा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले नयाँ सोच र प्रविधिको प्रयोग गर्दै सञ्चालन गरेका काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन्।
बुधबार ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले महानगरले नयाँ सोचका साथ अघि बढाएका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताए। उनले स्थानीय तहले गर्दै आएका यस्ता नवप्रवर्तनात्मक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
गृहमन्त्री गुरुङले देशमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै नागरिकलाई राजनीतिक दल वा आस्थाका आधारमा विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले ललितपुर र भक्तपुर नेपालको कला, संस्कृति तथा परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका क्षेत्र भएको बताए। स्थानीय तहले आफ्ना मौलिक पहिचान जोगाउँदै विकास र प्रविधिको प्रयोगलाई समेत अघि बढाउनुपर्ने उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले गृह मन्त्रालयले अहिले कार्यान्वयन गरिरहेका कतिपय प्रणाली ललितपुर महानगरपालिकाले तीन वर्षअघि नै प्रयोगमा ल्याइसकेको बताए। महानगरपालिकाले नयाँ–नयाँ सोचका साथ काम गरिरहेको भन्दै उनले आफूहरू महानगरको तुलनामा प्रविधि र प्रणाली कार्यान्वयनमा केही पछाडि परेको समेत स्वीकार गरे।
‘ललितपुर महानगरले जति पनि काम गर्नुहुन्छ, उहाँहरूको काम नयाँ–नयाँ हुन्छ । गृह मन्त्रालयले अहिले लागू गरिरहेको सिस्टम महानगरले तीन वर्ष अगाडि नै गरिसकेको रहेछ । हामी पुरानो भइसकेछौँ,’ उनले भने।
सबै सरकारी तथा सार्वजनिक निकायले ललितपुर महानगरपालिकाले जस्तै प्रभावकारी, सिर्जनशील र परिणाममुखी ढंगले काम गर्ने हो भने देशलाई थप व्यवस्थित र समृद्ध बनाउन सकिने गृहमन्त्री गुरुङले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment