संविधान संशोधन गर्न दुई तिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने

डिसी नेपाल
४ भदौ २०८३ १७:४४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधन गर्दा संविधानमै तोकिएको प्रक्रियालाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउदै प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने स्पष्ट गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफलमा लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र प्रमाणका आधारमा विषय उठाउनुपर्ने बताए। उनले संवैधानिक निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थाको गरिमा र प्रतिष्ठामा आँच नपुग्ने गरी छलफल गर्नुपर्ने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर संवैधानिक निकायलाई राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राखेका थिए।

संविधानले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रिया स्पष्ट गरेको भन्दै लामिछानेले संवैधानिक व्यवस्थाप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *