इरानमाथि १०० पटक थप आक्रमण गर्न पनि पछि हट्दिनः ट्रम्प

डिसी नेपाल
५ भदौ २०८३ ७:४४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न आवश्यक परेको भए आफू इरानमाथि १०० पटक थप आक्रमण गर्न पनि पछि नहट्ने बताएका छन्।

एक रेडियो अन्तर्वार्ताका क्रममा ट्रम्पले यदि आफूले इरानमाथि कारबाही नगरेको भए आज इजरायल र पूरै मध्यपूर्व ध्वस्त भइसक्ने दाबी गरे।

इरान आणविक हतियार निर्माण गर्नबाट मात्र दुई हप्ता टाढा रहेको अवस्थामा आफूले उसका आणविक अखडाहरूमा आक्रमणको आदेश दिएको ट्रम्पको भनाइ छ।

होर्मुज जलडमरूमध्य को नियन्त्रण अमेरिकी हातमा रहेको दाबी गर्दै ट्रम्पले पुनः अमेरिकी कारबाहीका कारण इरानको मिसाइल तथा ड्रोन क्षमता निकै कमजोर भएको र उसको अर्थतन्त्र पतनको सङ्घारमा पुगेको बताए।

ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा भएको इरान आणविक सम्झौतालाई “एक विपत्ति” को संज्ञा दिएका छन्। इरानलाई आणविक हतियार हासिल गर्नबाट रोक्नका लागि अमेरिका सो सम्झौताबाट बाहिरिनु आवश्यक रहेको उनले बताए।

इरानलाई “मध्यपूर्वको दादा” को संज्ञा दिँदै ट्रम्पले इरानले कतार, बहराइन, कुवेत र युएई जस्ता देशहरूमाथि पनि आक्रमण गरेको आरोप लगाए, जसले केही हदसम्म इरानलाई नै समर्थन गरिरहेका थिए। यदि अमेरिकाले सैन्य कारबाही नगरेको भए इरानले यी सबै देशहरूलाई ध्वस्त पारेर अमेरिकाको भूभागमै स्थल आक्रमणको तयारी गर्ने ट्रम्पको दाबी छ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको अर्थतन्त्रलाई “तहसनहस” पार्ने अमेरिकाको प्रयासमा साथ दिन आफ्ना सहयोगी राष्ट्रहरूसँग अपिल गरेका छन्।

न्युज च्यानल सिएनबीसी सँगको कुराकानीमा बेसेन्टले भने, “हामी यस शासनलाई ढाल्नेछौँ। अब हाम्रा सहयोगी र बाँकी विश्वले निर्णय गर्ने समय आएको छ।”

उनले अगाडि थपे, “या त तपाईँहरू हाम्रो साथमा हुनुहुन्छ, या हाम्रा विरुद्धमा।”

बेसेन्टको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलगत्तै आएको हो। ट्रम्पले इरानी शासनलाई “कुनै पनि किसिमको सहयोग वा सहारा” दिने जुनसुकै देशले “भयावह आर्थिक परिणाम” भोग्नुपर्ने चेतावनी दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *