रास्वपा केन्द्रीय समिति बैठक जारी: स्थानीय निर्वाचनदेखि संगठन विस्तारसम्म छलफल हुँदै

डिसी नेपाल
५ भदौ २०८३ १३:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक काठमाडौंको वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका विभिन्न दस्तावेज, संगठन व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुने कार्यसूची छ ।

बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ । यस्तै ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

संगठनात्मक व्यवस्थापन तथा मनोनयनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागका प्रमुख मनोनयन गर्ने विषय कार्यसूचीमा राखिएको छ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे पनि निर्णय हुने बताइएको छ ।

त्यसैगरी, पार्टीको योजना, कार्यक्रम तथा अभियानअन्तर्गत केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल हुनेछ ।

रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा समावेश गरेको छ ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया, संगठनात्मक संरचना तथा पार्टीका आगामी अभियानलाई व्यवस्थित बनाउने विषयमा बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *