दुई दशकको प्रतीक्षापछि म्याग्दीको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न
म्याग्दी। म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनामा भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएसँगै विद्युत् उत्पादनको तयारी थालिएको हो।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाको बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षणसमेत पूरा भएको छ भने अर्को २० मेगावाटको युनिटको परीक्षण आइतबारदेखि सुरु गरिएको छ।
दुवै युनिटको परीक्षण पूरा गर्न एक सातादेखि १० दिनसम्म लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको केसीले बताए। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा निर्माण गरिएको बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरीको परीक्षणसमेत सम्पन्न भइसकेको छ।
रघुगङ्गा गाउँपालिकाको तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्गृहमा उपकरण जडानको काम पूरा गरी परीक्षण सुरु गरिएको हो। आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ।
आयोजना निर्माणका लागि भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)सँग ४५ महिनामा काम सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ अर्थात् २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माणमा ढिलाइ भएपछि पटक–पटक म्याद थप गरिएको थियो। कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण आयोजना निर्माण प्रभावित भएको जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए।
आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग विसं २०७६ कात्तिकमा १० करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलर बराबरको ठेक्का सम्झौता गरिएको थियो। भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारुपमा आयोजना अघि बढाइएको हो।
आयोजनाको प्रारम्भिक ठेक्का आर्थिक समस्या देखिएपछि विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसीएलसँग तोडिएको थियो। आइभिआरसीएलसँग विसं २०६६ मा ठेक्का सम्झौता भएको थियो। त्यसपछि नयाँ प्रक्रियाबाट ठेकेदार छनोट गरी आयोजनाको निर्माण अघि बढाइएको हो।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लाको जलविद्युत् विकासको प्रवेशविन्दुका रूपमा लिइँदै आएको बताए। उनका अनुसार राहुघाट आयोजना अघि बढेपछि म्याग्दीमा प्रवेश गरेका अन्य जलविद्युत् आयोजनामध्ये १० वटा आयोजना सम्पन्न भइसकेका छन्।
“ढिलै भए पनि दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको खबरले हामीलाई उत्साहित बनाएको छ,” श्रेष्ठले भने।
पछिल्लो पटक छनोट भएको जेपीले विसं २०७५ असारमा आयोजनाको पहुँचमार्ग निर्माण र २०७६ असारमा मुख्य सुरुङ खन्ने काम सुरु गरेको थियो। आयोजनाले वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो।
राहुघाटबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत निर्माण भएको २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिनेछ। यसका लागि आवश्यक चारवटा टावर तथा प्रसारण लाइन निर्माणको कामसमेत पूरा भइसकेको छ। आयोजना सञ्चालनमा आएपछि म्याग्दीको विद्युत् उत्पादन क्षमता थप बढ्नुका साथै राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment