कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिपछि कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर तथा मन्त्रीहरूको कार्यविभाजन गरिएको छ। यही राजनीतिक समीकरण र मन्त्रिपरिषद् पुनर्गठनपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री कार्कीको नेतृत्वमा कोशी प्रदेश मन्त्रिपरिषद् पहिलोपटक २०८१ वैशाख २७ गते गठन भएको थियो। पछिल्लो राजनीतिक सहमति र सरकारको संरचनामा आएको परिवर्तनसँगै उनले पुनः प्रदेशसभाको विश्वास लिन लागेका छन्।
हाल कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४० जना र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १७ जना सांसद रहेका छन्। प्रदेशसभामा यी दुई दलको समर्थनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त गर्न सहज हुने देखिएको छ।
आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले राख्ने विश्वासको मतको प्रस्तावमाथि छलफलपछि मतदान हुने कार्यसूची रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment