मलेसियाको प्रणालीमा सूचीकृत २५ म्यानपावरले नाम हटाउने, सिन्डिकेट विवाद अन्त्यको दिशामा
काठमाडौं । मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका २५ म्यानपावर कम्पनीले उक्त प्रणालीबाट आफ्ना नाम हटाउने निर्णय गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलमा उनीहरूको नाम तत्काल प्रणालीबाट हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिए।
मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि करिब १ हजार २०० लाइसेन्सप्राप्त म्यानपावर कम्पनीमध्ये २५ वटालाई मात्रै एफडब्लूसीएमएसमा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत गरेको थियो।
सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग प्रत्यक्ष जोडिने अवसर दिएको भन्दै व्यवसायीहरूले यसलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गरेका थिए।
यसबाट प्रतिस्पर्धा सीमित हुने र मलेसियाको रोजगारीमा थोरै कम्पनीको मात्र पहुँच कायम हुने भन्दै चौतर्फी विरोध भएपछि वैदेशिक रोजगार व्यवसायी संघले ती म्यानपावरलाई सदस्यताबाट निलम्बन गर्दै कारबाहीका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
यही विवादबीच एफडब्लूसीएमएसमा सूचीकृत २५ म्यानपावर कम्पनी आफैंले पनि नाम फिर्ता लिने निर्णय गरेका छन्। आफूहरूलाई मात्र सीमित गरेर कामदार पठाउने व्यवस्था दीर्घकालीन रूपमा आफ्नै हितमा समेत नरहने निष्कर्षसहित उनीहरू सामूहिक रूपमा प्रणालीबाट बाहिरिन सहमत भएको महासचिव डाँगीले बताए। यससँगै ती २५ वटै म्यानपावर कम्पनीले वैदेशिक रोजगार व्यवसायी संघमा समेत लिखित प्रतिबद्धता बुझाउनुपर्ने भएको छ।
यसैबीच, मन्त्रालयमा भएको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले मलेसियाका कार्यबाहक राजदूतसँगको भेटमा श्रम आप्रवासनसँग सम्बन्धित विषयहरू द्विपक्षीय संवाद र सहमतिमार्फत मात्र टुंग्याउनुपर्ने धारणा राखेका छन्। मन्त्रालयको पहल र व्यवसायीहरूको सामूहिक विरोधपछि यो सिन्डिकेट विवाद अन्त्य हुने दिशामा अगाडि बढेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment