उपल्लो मुस्ताङका हिमतालमा अनुगमन: तत्काल विपद्को जोखिम नरहेको निष्कर्ष

डिसी नेपाल
१४ भदौ २०८३ ८:२७

मुस्ताङ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल विस्फोट तथा बाढीको जोखिमबारे स्थलगत एवं ड्रोन प्रविधिमार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको सरोकारवाला अधिकारीहरूले बताएका छन्।

भोटेकोशीमा हालै आएको विनाशकारी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बलको बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको निरीक्षण गरिरहेको छ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक रहेका कालीगण्डकीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो। सो क्षेत्रमा हिमपातको अवस्था र सम्भावित जोखिम मूल्याङ्कन गर्दा हाल कुनै खतरा नदेखिएको उनले जानकारी दिए।

त्यस्तै अनुगमनको दोस्रो चरणमा समुद्र सतहबाट करिब ५ हजार ५५० मिटरको उचाइमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ। ड्रोनमार्फत गरिएको उक्त निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल जोखिमको सङ्केत नपाइएको पौडेलको भनाइ छ।

टोलीले अब लोमान्थाङको चुमजुङस्थित छुआमा पिकको शिर र लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना बनाएको छ। जिपीएस (GPS) बाट ती क्षेत्रमा हिमताल रहेको देखिएकाले स्थलगत निरीक्षण गर्न लागिएको हो।

गत वर्ष चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहित बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो।

उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान र संवेदनशील क्षेत्रको नियमित अनुगमन जारी राखिने एक्यापले जनाएको छ। सम्भावित विपद् पहिचान, प्रारम्भिक चेतावनी र प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली भेगमा पूर्वतयारीलाई सुदृढ बनाइने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *