बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार र क्षतिको अवस्था बुझ्न ऊर्जा मन्त्री श्रेष्ठ रसुवा जाँदै

डिसी नेपाल
१५ भदौ २०८३ ११:००

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना स्थलहरूको निरीक्षणका लागि सोमबार प्रस्थान गर्दै छन्।

मन्त्री श्रेष्ठ बिहान ९ बजे नुवाकोट हुँदै रसुवातर्फ जान लागेका हुन्। मन्त्रीको सचिवालयका अनुसार स्थलमार्गबाट नुवाकोट पुगेर उनले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे जानकारी लिनेछन्। सोक्रममा विद्युत् आपूर्ति ठप्प भएका स्थानहरूमा वैकल्पिक ऊर्जाका रूपमा सोलारको व्यवस्थापन गर्ने उपायबारे समेत छलफल हुनेछ।

मन्त्री श्रेष्ठ सुरुमा नुवाकोटको त्रिशूलीस्थित बट्टामा रहेको क्याम्प पुग्नेछन्। त्यहाँबाट हेलिकप्टरमार्फत रसुवा जाने र जलविद्युत् आयोजनाको सुरुङ मार्ग (टनेल) क्षेत्रमा भइरहेको उद्धारको अवस्था, उद्धारमा देखिएका कठिनाइ र भौतिक क्षतिको विवरणबारे स्थलगत जानकारी लिनेछन्।

रसुवाको निरीक्षण पश्चात् फर्केर उनी नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविरमा पुग्ने कार्यक्रम छ। शिविरमा उनले बाढीपीडितको उद्धार र राहतको स्थितिबारे जानकारी लिनेछन्।

नुवाकोटमै रहँदा मन्त्री श्रेष्ठले सुरुङ मार्गभित्र फसेका कर्मचारी तथा श्रमिकका परिवारजनसँग भेटघाट गर्नेछन्। साथै, नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीसँग छलफल गरी अवरुद्ध विद्युत् सेवा सञ्चालन र आवश्यक सहजीकरणका लागि निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *