जलविद्युत् आयोजना क्षेत्रबाट हालसम्म २७९ जनाको जीवितै उद्धार, सुरुङभित्र खोजी कार्य जारी
काठमाडौं। रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनासहितको टोलीले हवाइ तथा जमिनी मार्गबाट खोज एवम् उद्धार कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाले आज (मङ्गलबार) बिहान ११ बजेसम्म हवाइ साधनमार्फत थप २३ जनाको उद्धार गरेको छ।
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र फसेका नागरिकको खोजीका लागि स्वदेशी तथा विदेशी विशेषज्ञहरूसहितको संयुक्त टोली परिचालन गरिएको छ।
उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब ५० मिटर प्रवेश गरी खोजी कार्य अघि बढाएको छ। यसैगरी लाङटाङ हाइड्रोमा करिब १५० मिटर र अपर त्रिशूली-१ हाइड्रोमा करिब २०० मिटरसम्म टनेलभित्र छिरेर खोजी कार्य जारी राखिएको छ।
त्रिशूली-३ ‘ए’ आयोजनामा भने टनेलको मुख्य भाग (हेड) फेला परेको छ। टनेलभित्र कम्प्रेसरमार्फत हावा पठाउने र भरिएको पानी बाहिर निकाल्ने काम भइरहेको छ। तीन वटा एक्साभेटर प्रयोग गरेर टनेलको पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ।
यसअघि बाढी आउनासाथ सुरु गरिएको उद्धार अभियानका क्रममा विभिन्न जलविद्युत् आयोजनास्थलबाट २७९ जनाको जीवितै उद्धार गरिसकिएको छ।
जसअन्तर्गत माथिल्लो त्रिशूली-३ ‘ए’ बाट २२१ जना, माथिल्लो त्रिशूली-१ बाट ३३ जना, मैलुङबाट ९ जना, देवघाट जलविद्युत् आयोजनाबाट ५ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना तथा रसुवागढी र माथिल्लो त्रिशूली-३ ‘बी’ बाट २-२ जनाको उद्धार गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment