भोटेकोसी विपद्‌मा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्छ : ज्ञानेन्द्र शाही

डिसी नेपाल
१६ भदौ २०८३ १७:१२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकोसी विपद्‌बाट भएको क्षतिको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायसँग माग्नुपर्ने बताएका छन्।

मङ्गलबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले नेपालका कारण नभई अन्य विकसित राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनका कारण देशले प्राकृतिक विपत्ति भोग्नुपरेको दाबी गरे।

‘कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले गर्दा हामीले विपत्ति भोगिरहेका छौँ,’ उनले भने, ‘यसको क्षतिपूर्तिका लागि हामी अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्रसङ्घसम्म पुग्नुपर्छ। यो हाम्रो हकदाबी हो।’

नेता शाहीले बाढी तथा विपद् पीडितका लागि सरकारले राहत वितरण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन तल्ला निकायहरूलाई परिचालन गर्नुपर्नेमा जोड दिए। ‘एकद्वार प्रणालीका कारण राहत सामग्री सीडीओ कार्यालयमै थन्किएको छ। केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गरी तल्लो स्तरका जनतासम्म राहत पुर्‍याउन आफ्ना संयन्त्रहरू परिचालन गर्नुपर्छ,’ उनले भने।

कुन ठाउँमा कसलाई के आवश्यकता छ र को बेपत्ता भएका छन् भन्ने कुरा स्थानीय सरकारलाई बढी जानकारी हुने भएकाले केन्द्रले स्थानीय तहलाई नै अग्रसर गराउनुपर्ने उनको भनाइ थियो।

साथै, उनले यस विषम परिस्थितिमा उद्धार तथा राहतका लागि सामूहिक प्रयत्न आवश्यक रहेको भन्दै सबै पक्षलाई सहयोगका लागि अपिलसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *