रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता: विपद् व्यवस्थापनमा सहयोग जारी राख्ने चीनको प्रतिबद्धता

डिसी नेपाल
१७ भदौ २०८३ १०:४४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ।

लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको उक्त भेटवार्तामा राजदूत मिङले भोटेकोसीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।

भेटका क्रममा राजदूत मिङले विपद्पछिको खोज, उद्धारदेखि पुनर्निर्माणसम्मका कार्यमा चीन नेपालको साथमा रहेको र जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको जानकारी दिए।

विपद् लगत्तै उद्धारकर्मी र डिएनए विशेषज्ञसहितका आवश्यक सहयोग चीनले पठाइसकेको र आवश्यकता रहेसम्म उक्त सहयोग निरन्तर जारी रहने प्रतिबद्धता उनले व्यक्त गरे।

जवाफमा रास्वपा सभापति लामिछानेले विपद्को यस कठिन समयमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।

नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक एवम् प्राविधिक सहयोग अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले आगामी दिनहरूमा पनि थप सहकार्यका लागि आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *