‘कोही बचाउन आउला भनेर पर्खिरहेका छन् कि?’: बाढी प्रभावितको अवस्थालाई लिएर सांसद खरेल भावुक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण विभिन्न स्थानमा अझै पनि मानिसहरू जीवितै उद्धारको आशामा बसिरहेको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’सम्बन्धी छलफलका क्रममा सांसद खरेलले यस्तो बताएका हुन्।
छलफलका क्रममा बोल्दै सांसद खरेलले कतिपय मानिसहरू टनेल, कुनाकाप्चा वा खाल्डाखुल्डीमा थोरै पानी खाएर भए पनि जीवन बचाउन कसैको पर्खाइमा बसिरहेको हुन सक्ने उल्लेख गरे।
“अहिले पनि भोटेकोशी बाढीबाट कतै टनेलतिर, कतै कुनाकाप्चातिर स्वदेशी वा विदेशी मानिसहरू उद्धारको आशामा बसिरहेका छन् कि भन्ने सोचले मेरो मन अधैर्य भइरहेको छ,” सांसद खरेलको भनाइ थियो।
विपद्का कारण हजारभन्दा बढी मानिसको शव फेला परेको र चार हजारभन्दा बढी नागरिक अझै बेपत्ता रहेको भयावह अवस्था भए पनि सरकारको अगुवाइमा १२ हजारभन्दा बढी मानिसको सकुशल उद्धार भइसकेको जानकारी गराइयो। उद्धार र खोजी कार्यमा रातदिन काम भइरहेकाले विपद्का विषयमा नकारात्मक ‘न्यारेटिभ’ निर्माण नगर्नसमेत आग्रह गरियो।
यस अप्रत्याशित र अकल्पनीय प्राकृतिक विपद्को सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै सांसद खरेलले उद्धारका क्रममा विदेशी नागरिकहरूलाई पनि नेपाली नागरिक सरह नै प्राथमिकतामा राखेर कार्य गरिएको स्पष्ट पारे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment