नेपाल विद्युत प्राधिकरणद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, सुरुङभित्र प्रवेश मार्ग बनाउने कार्य जारी

डिसी नेपाल
१७ भदौ २०८३ १३:२८

काठमाडौं। जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम एवम् सम्पूर्ण आवश्यक सामानहरू ‘एयर लिफ्ट’ गर्नुपर्ने चुनौतीका बाबजुद नेपाल विद्युत प्राधिकरणले आफ्ना सम्पूर्ण स्रोत साधनहरू अधिकतम परिचालन गरी विपद्मा परेका कर्मचारी तथा कामदारहरूको खोज तथा उद्धारकार्य निरन्तर जारी राखेको छ।

भदौ १७ गते दिउँसो १:०० बजेसम्म प्राप्त प्रगति विवरण अनुसार प्राविधिक टोलीहरूले मुख्य प्रभावित जलविद्युत् आयोजना स्थलहरूमा उद्धार कार्यलाई अगाडि बढाएका छन्।

ढुङ्गा, बालुवा र माटो थुप्रिएका कारण त्रिशूली नदीको सतह पहिलेको भन्दा निकै उच्च रहेको छ। आयोजनाको टनेलको मुख्य प्रवेशमार्ग लगायत पावर हाउस क्षेत्र धेरै पुरिएकाले पावर हाउससम्म पुग्न विभिन्न उपकरणको प्रयोग गरी केवल टनेलबाट भित्र प्रवेश गर्ने बाटो बनाउने कार्य भइरहेको छ।

त्यस क्रममा ठूला-ठूला ढुङ्गाहरू भेटिएकाले तिनलाई ब्लास्ट गरी पन्छाउने काम भइरहेको प्राधिकरणले जनाएको छ। साथै, केवल टनेलको मुख खोलाको सतहभन्दा तल रहेकाले टनेल र हाल बनाइएको प्रवेश मार्गमा जम्मा भएको पानी पम्पिङ  गरी बाहिर फाल्ने कार्य निरन्तर चलिरहेको छ।

विपद्का कारण प्राधिकरणका कुल ४९ जना कर्मचारी तथा कामदारहरूसँग हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन। जस अनुसार देवीघाट जलविद्युत् केन्द्रका १ जना सुरक्षा गार्ड, त्रिशूली जलविद्युत् केन्द्रका १ जना कर्मचारी र २ जना सुरक्षा गार्ड गरी ३ जना, तथा माथिल्लो त्रिशूली ३ ए जलविद्युत् केन्द्रका ४२ जना कर्मचारी र कामदार बेपत्ता रहेका छन्।

यसैगरी रसुवा वितरण केन्द्रका १ जना कामदार, त्रिशूली ३ बी हब २२० केभी सबस्टेसनका १ जना सुरक्षा गार्ड र चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाका १ जना कर्मचारीसँग सम्पर्क हुन बाँकी छ। सम्पर्कविहीन भएका यी सम्पूर्ण व्यक्तिको खोज तथा उद्धारका लागि चौबिसै घण्टा टोली परिचालन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *