पहिचान हुन नसकेका शवको डिएनए आधार सुरक्षित छ, म्याचिङपछि परिवारलाई बुझाइनेछ: प्रधानमन्त्री बालेन

डिसी नेपाल
१७ भदौ २०८३ १३:५७

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भोटेकोशी बाढीमा परी पहिचान हुन नसकेका शवहरूलाई कानुनबमोजिम जमिनमुनि व्यवस्थापन गरिए पनि तिनको डिएनए तथा अन्य पहिचान खुल्ने आधारहरू पूर्ण रूपमा सुरक्षित राखिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बाढी विपद्बारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले पहिचान नखुलेका शवहरूको वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र व्यवस्थापन गरिएको जानकारी दिए।

डिएनए परीक्षणका लागि आवश्यक नमुनाहरू सुरक्षित राखिएकाले पछि परिवारसँग डिएनए म्याचिङ भएपछि सम्बन्धित आफन्तलाई शव हस्तान्तरण गरिने उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म १ हजार १ सय १४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहभागितामा शवहरूको व्यवस्थापन कार्य भइरहेको छ।

संसद्‌मा बोल्दै प्रधानमन्त्री शाहले भने, “पहिचान हुन नसकेकाहरूको शव कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर, डिएनए तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएका छन्। यी शव डिएनए म्याचिङपश्चात् सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।”

यसैगरी, पहिचान खुलेका शवहरूलाई भने प्रक्रिया पुर्‍याएर तत्कालै आफन्तको जिम्मा लगाउने काम निरन्तर भइरहेको प्रधानमन्त्री शाहले सदनलाई अवगत गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *