त्रिशूली क्षेत्रको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्‍याे: गणेश पराजुली

डिसी नेपाल
१७ भदौ २०८३ १४:२८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको अकल्पनीय एवम् भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पराजुलीले उत्तरतर्फको हिमाली क्षेत्रमा भएको प्राकृतिक गडबडीका कारण सुरु भएको विनाशकारी बहावले भोटेकोशी हुँदै त्रिशूली नदी किनारसम्म ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बताए। बाढीका कारण हजारौं मानिसले ज्यान गुमाउनुका साथै हजारौँ परिवार विचल्लीमा परेको उनले सदनलाई अवगत गराए।

संसद्‌मा बोल्दै सांसद पराजुलीले भने, “उत्तरतिर हिमाली क्षेत्रमा भएको कुनै गडबडीका कारण सुरु भएको विनाशकारी बहाव भोटेकोशी हुँदै त्रिशूली नदी किनारमा प्रवेश गर्दा हजारौँ जीवन क्षणभरमै समाप्त मात्र भएन, हजारौँ परिवारलाई विचल्ली बनायो। आकलन नै गर्न नसकिने भौतिक क्षति त छँदैछ, इतिहाससँग जोडिएको त्रिशूली सभ्यता नै निमिट्यान्न पारिदियो।”

विपत्तिका कारण गाउँ-बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै उनले बाढीमा परी मृतकको सङ्ख्या १,१०० नाघिसकेको र हजारौँ मानिस अझै बेपत्ता रहेको बताए।

बेपत्ता हुनेहरूमा विदेशी नागरिकहरूसमेत रहेकाले खोज तथा उद्धार कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

साथै जलविद्युत् आयोजनाका सुरुङभित्र पुरिएका, दबिएका तथा फसेका नागरिकहरूको उद्धारका लागि प्राथमिकताका साथ प्रयास जारी राख्न सांसद पराजुलीले सरकारसँग माग गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *