सरकारको राम्रो काममा समर्थन र गल्तीमा खबरदारी रहन्छ: आङ्देम्बे
काठमाडौँ। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्राकृतिक विपद्को यस कठिन घडीमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सम्पूर्ण राजनीतिक दलहरू एकजुट भएर सामना गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद आङ्देम्बेले क्षणभरमै यति ठूलो क्षति मुलुकले एकैपटक व्यहोर्नुपरेको घटना इतिहासमै अकल्पनीय रहेको बताए।
विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे। साथै राष्ट्रिय संकटको समयमा देशभित्र तथा बाहिर रहेका सम्पूर्ण नेपालीको तत्परता र अन्तर्राष्ट्रिय समुदायले देखाएको ऐक्यबद्धता एवम् सहयोगका लागि उनले धन्यवाद ज्ञापन गरे।
“विपद् कुन बेला आउँछ थाहा नहुने रहेछ। नेपाली कांग्रेसले यही सदनमा पटक-पटक जुनसुकै बेला विपद् आउन सक्ने भएकाले पूर्वतयारीमा लाग्न ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छु,” उनले भने।
सांसद आङ्देम्बेले विपद्को समयमा कांग्रेस पूर्ण रूपमा सरकारको साथमा रहेको स्पष्ट पारे। बाढीको बितण्डा सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्रीलाई भेटेर तत्काल गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराइएको र सर्वदलीय बैठकमा समेत पार्टी सभापतिले सरकारलाई स्पष्ट सहयोगको प्रतिबद्धता जनाएको उनले उल्लेख गरे।
सोही प्रतिबद्धता स्वरूप कांग्रेसले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको जानकारी पनि उनले दिए।
सरकारलाई सहयोग गर्नुको अर्थ गलत कामको आँखा चिम्लेर समर्थन गर्नु नभएको उनले प्रस्ट पारे। “विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने होइन। राम्रो काम गर्छ, साथ-समर्थन छ। बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ, खास सहयोग यही होइन र?” उनले प्रश्न गरे।
प्रलयकारी बाढी आएको एक साता बितिसक्दा पनि उद्धार र राहतका काम प्रभावकारी भए/नभएको विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
सम्बोधनको अन्तमा सांसद आङ्देम्बेले प्रचारभन्दा नागरिकको जीवन बचाउने कार्यलाई प्राथमिकता दिन सरकार र सत्तारूढ दलका सांसदहरूलाई आग्रह गरे। “यो प्रचार होइन, प्राण बचाउने समय हो। नागरिकको जीवनसँग जोडिएको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,” उनले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment