भोटेकोशी विपत्ति प्राकृतिक मात्र हो कि मानव सिर्जित पनि? गम्भीर विवेचना आवश्यक : बादल

डिसी नेपाल
१७ भदौ २०८३ १४:५५

काठमाडौं। नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ ले भदौ १० गते आएको विनाशकारी बाढीपहिरो प्राकृतिक विपत्ति मात्र हो वा मानव सिर्जित दुर्घटना पनि हो भन्ने विषयमा गम्भीर र वस्तुगत विवेचना आवश्यक रहेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भदौ १० गतेको भयावह घटनाले हजारौँ नागरिकका लागि कालरात्रिको रूप लिएको बताए। विपत्तिको सही र वस्तुगत निष्कर्ष निकाल्न सके मात्र शोक र पीडालाई शक्तिमा बदल्न सकिने र आगामी दिनमा यस्ता दुर्घटना रोक्न एवम् बच्न सकिने धारणा उनले राखे।

संसद्‌मा बोल्दै सांसद थापाले भने, “भदौ १० गतेको त्यो भयानक बिहानी कसरी हजारौँ नागरिकहरूको कालरात्री बनेर आयो, यो प्रकृति सिर्जित विध्वंस हो वा मानव निर्मित दुर्घटना? शोक र पीडाको घडीमा यो गम्भीर प्रश्नको वस्तुनिष्ठ विवेचना गर्न अत्यन्त जरुरी छ। यसको वस्तुगत समुचित निष्कर्षबाट नै हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्छौँ, भावी दुर्घटना रोक्न तथा त्यसबाट बच्न सक्छौँ।”

सांसद थापाले जलवायु परिवर्तन र भू-मण्डलीय तापक्रम वृद्धिका कारण सिङ्गो मानव जातिकै अस्तित्व सङ्कटमा परिरहेको तर्फ ध्यान आकर्षण गराए। विकसित देशहरूले उद्योग, यातायात लगायतका क्षेत्रमा अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ, कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन भई वायुमण्डलको तापक्रम अस्वाभाविक रूपमा बढिरहेको उनको भनाइ थियो।

तापक्रम वृद्धिका कारण हिमालको हिउँ पग्लिएर भयावह बाढीपहिरोमा परिणत हुने र त्यसले मानव बस्तीको अस्तित्व नै मेटाइदिने जोखिम बढेको उनले बताए। यसैगरी उत्तरी र दक्षिणी ध्रुवका हिउँ पग्लिँदा समुद्रको जलस्तर बढेर तटीय मुलुकहरूको अस्तित्व लोप हुने खतरा सिर्जना भएको र तीव्र वन विनाशले समेत भू-मण्डलीय तापक्रम वृद्धिमा थप नकारात्मक भूमिका खेलिरहेको सांसद थापाले स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *