काठमाडौं-हेटौंडा जोड्ने वैकल्पिक सडक र नयाँ कार्यतालिका सार्वजनिक

डिसी नेपाल
१७ भदौ २०८३ १९:२४

काठमाडौं।  त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौं-हेटौंडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ।

वर्षाद्को समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा उक्त वैकल्पिक व्यवस्था मिलाइएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार साना तथा ठूला सवारी साधनका लागि छुट्टाछुट्टै रुट निर्धारण गरिएको छ:

  • साना सवारी साधन:

    • काठमाडौंबाट हेटौंडातर्फ: फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी रुट प्रयोग गर्नुपर्नेछ।

    • हेटौंडाबाट काठमाडौंतर्फ: भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै प्रवेश गर्नेछन्।

  • ठूला तथा मालवाहक सवारी साधन:

    • काठमाडौंबाट हेटौंडातर्फ: चापागाउँ-भट्टेडाँडा-ठिङ्गन रुट कायम गरिएको छ। यो रुट प्रयोग गर्ने सवारीले साँझ ६:०० बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।

    • हेटौंडाबाट काठमाडौंतर्फ: भैँसे-पालुङ-टिस्टुङ-नौबिसे मार्ग हुँदै काठमाडौं भित्रिने व्यवस्था मिलाइएको छ।

यसैबीच, मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर भएकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई पुल प्रयोग नगर्न आग्रह गरिएको छ। त्यस्ता भारी सवारी साधनका लागि बेलिब्रिज छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *