भोजपुरको अरुण डाँडा पर्यटकीय गन्तव्य बन्दै: पूर्वाधार निर्माणसँगै बढे आन्तरिक पर्यटक

डिसी नेपाल
१८ भदौ २०८३ ७:२२

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बाक्लिएको छ।

समुद्री सतहबाट करिब दुई हजार ३०० मिटर उचाइमा रहेको अरुण डाँडाबाट विभिन्न हिमशृङ्खला, समथर फाँट र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ।

गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति तथा विश्रामस्थल लगायतका संरचना निर्माण गरिएका छन्। प्राकृतिक सौन्दर्यका साथै धार्मिक आस्थाका कारण पनि पूजाआजाका लागि यहाँ पर्यटक तथा भक्तजनहरू पुग्ने गरेका छन्।

भोजपुर-लेगुवा सडकखण्डबाट नजिकै पर्ने भएकाले र वृक्षरोपणमार्फत यस क्षेत्रको सुन्दरता बढाइएकाले आवतजावत सहज र आकर्षक बनेको पौवादुङमा–१, श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए।

सदरमुकाम नजिकै रहेकाले सहरी व्यस्तताबाट टाढा रहेर प्रकृतिको आनन्द लिन र स्थानीय परिकारको स्वाद लिन मानिसहरू यहाँ पुग्ने गरेको स्थानीय लालबहादुर तामाङको भनाइ छ। पर्यटन प्रवर्द्धन भएसँगै स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ।

गाउँपालिका अध्यक्ष किरण राईले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको अरुण डाँडाको संरक्षण र विकासलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेरै अघि बढाइएको जानकारी दिए।

यस क्षेत्रलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको बताउँदै उनले थप प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना रहेको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *