प्रतिनिधिसभा बैठकमा अस्वस्थ भई ढले सार्वजनिक लेखा समिति सभापति भरतबहादुर खड्का
काठमाडौँ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का अचानक अस्वस्थ भई ढलेका छन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले आफ्नो धारणा राखिरहेका बेला खड्का अकस्मात् सिटबाट लडेका थिए। कांग्रेस सांसद सीता थपलियाका अनुसार उच्च रक्तचाप (ब्लड प्रेसर) एकाएक बढेपछि खड्कालाई अस्वस्थ महसुस भएको हो।
संसद् भवनभित्रै चिकित्सकहरूको टोलीले खड्काको प्राथमिक स्वास्थ्य उपचार गरेको थियो। प्राविधिक तथा प्राथमिक उपचारपछि थप परीक्षण र निगरानीका लागि उनलाई सिभिल अस्पताल लगिएको छ।
सांसद खड्का अस्वस्थ भएर ढलेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगित गरिएको थियो। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूका अनुसार हाल उनको स्वास्थ्य स्थिति नियन्त्रणमा र स्थिर रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment