नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : सांसद मनिष झा

डिसी नेपाल
१८ भदौ २०८३ १५:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले रसुवा बाढीपछिको विपद्को समयमा सबै राजनीतिक दलहरूले सरकारप्रति देखाएको समर्थन र सद्भाव अनुकरणीय रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले वर्तमान संकटको घडीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारलाई सबै दलले दिएको साथप्रति सम्मान प्रकट गरे।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकको स्मरण गराउँदै उनले भविष्यका राष्ट्रिय संकटहरूमा पनि दलहरूबाट यस्तै राजनीतिक परिपक्वता र एकताको अपेक्षा व्यक्त गरे।

विपद्का बेला देश र सम्पूर्ण नागरिक एकताबद्ध भएको उल्लेख गर्दै सांसद झाले सीमित स्रोतसाधनका बाबजुद उद्धारमा खटिएका सुरक्षाकर्मीहरूको मनोबलको प्रशंसा गरे।

नेपाल प्रहरीसँग उद्धारका लागि एउटा हेलिकप्टरसम्म नभएको स्थिति स्मरण गराउँदै उनले सरकारले सुरक्षा निकायको स्रोत र साधनको सुदृढीकरणमा गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए।

यसै गरी, बाढी–पहिरोको घटनालाई जलवायु परिवर्तनको असरसँग जोड्दै सांसद झाले नेपालको कार्बन उत्सर्जन शून्यप्रायः रहे पनि यसको गम्भीर मार खेप्नुपरिरहेको बताए।

विकसित मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारण नेपालले प्राकृतिक विपद्को सामना गर्नुपरेकाले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो विषय सशक्त रूपमा उठाउनुपर्ने र नेपालले जलवायु क्षतिपूर्ति पाउनुपर्ने दाबी उनले गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *