सुझाव दिएपछि रसुवा खटाइएका सचिव निरौलाले सुरु गरे काम

डिसी नेपाल
१८ भदौ २०८३ १८:२७

काठमाडाैं। सरकारलाई सामाजिक सञ्जालमार्फत विपद् व्यवस्थापनबारे सुझाव दिएलगत्तै रसुवा सरुवा भएका कोशी प्रदेशका सचिव कोषहरि निरौलाले बिहीबारदेखि फिल्डमै पुगेर काम सुरु गरेका छन्। संघीय सरकारले उहाँलाई बाढी प्रभावित रसुवाको टिमुरे क्षेत्रमा शव व्यवस्थापन तथा उद्धार समन्वयका लागि खटाउने निर्णय गरेको थियो।

भूमिसम्बन्धी विषय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट काजमा रसुवा खटिएका निरौलाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

रसुवा पुगेपछि सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले प्रभावित क्षेत्रमा हाल मुख्य चुनौतीको रूपमा सडक सञ्जाल (कनेक्टिभिटी) अवरुद्ध हुनु रहेको र सडक सञ्जाल खुलाउन सके राहत तथा उद्धार कार्य थप सहज हुने बताए।

यसअघि मोरङको प्रमुख जिल्ला अधिकारी रहँदा कोभिड-१९ को समयमा शव व्यवस्थापनको अनुभव सम्हाल्नुभएका निरौलाले गत शनिबार फेसबुकमा ‘फोकटको सल्लाह’ शीर्षकमा सरकारलाई अनुभवसहितको सुझाव दिएका थिएए।

सुझाव लगत्तै उनलाई सरुवा गरिएपछि सरकारको आलोचना भए पनि उनले भने सरकारले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार्दै फिल्डमा खटिने प्रतिबद्धता जनाएका थिए।

गृह प्रशासन र विपद् व्यवस्थापनमा लामो अनुभव भएका निरौलालाई टिमुरे र आसपासका क्षेत्रमा बेपत्ताको खोजतलास, मृतकको पहिचान, धार्मिक तथा सास्कृतिक संवेदनालाई ध्यानमा राखेर शव व्यवस्थापन गर्ने र बेपत्ता विदेशी नागरिकका हकमा कूटनीतिक समन्वय गर्ने विशेष जिम्मेवारी दिइएको छ।

उनको पारिश्रमिक र सुविधा भने हाल कार्यरत कोशी प्रदेशकै मन्त्रालयबाट बेहोरिने गरी काज मिलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *