चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ बनाउँछन् : कांग्रेस सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मौलिक संस्कृति, परम्परा र चाडपर्वहरूले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बताएका छन्।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै कांग्रेस सभापति थापाले नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति र जीवन पद्धतिको अनुपम सङ्गम भएको सुन्दर राष्ट्र भएको उल्लेख गरे। फरक-फरक समुदायका विशिष्ट परम्परा र संस्कृति नै नेपालको पहिचान भएको उनकाे भनाइ छ।
भगवान् श्रीकृष्णको पावन जन्मजयन्तीका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी सत्य, न्याय, कर्तव्य, प्रेम, करूणा र मानव कल्याणका उच्च आदर्शलाई जीवनमा आत्मसात् गर्ने प्रेरणादायी पर्व भएको धारणा व्यक्त गरे।
त्यसैगरी, सुदूरपश्चिमको समृद्ध मौलिक संस्कृति, आस्था र परम्परासँग जोडिएको गौरा पर्वले सांस्कृतिक गौरव, सामाजिक एकता र पारिवारिक आत्मीयतालाई जीवन्त राख्न ठूलो योगदान पुर्याएको थापाले उल्लेख गरे।
सभापति थापाले यी दुवै पवित्र पर्वका अवसरमा देश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment