त्रिशूली थ्री ‘ए’ को सुरुङबाट मेकानिकल फोरम्यान र सुपरभाइजरको जीवितै उद्धार

डिसी नेपाल
१९ भदौ २०८३ ९:४३

काठमाडौं। माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना प्राविधिकको १० दिनपछि सकुशल जीवितै उद्धार गरिएको छ।

संयुक्त उद्धार टोलीले आयोजनाको सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कवीर महर्जनको जीवितै उद्धार गरेको हो।

उद्धार गरिएका दुवै जनालाई तत्काल प्रारम्भिक स्वास्थ्य उपचार प्रदान गरी थप उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी भइरहेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

आयोजनाको भूमिगत विद्युत् गृहमा मर्मत सम्भार (ओभरहलिङ) को काम भइरहेका बेला आएको भीषण बाढी र पहिरोले सुरुङको प्रवेशद्वार पुरिएपछि प्राविधिक तथा कर्मचारीहरू भित्रै थुनिएका थिए। सुरुङको मुख माटो, ढुङ्गा र लेदोले पुरिएकाले उद्धार कार्य अत्यन्त जटिल र चुनौतीपूर्ण बनेको थियो।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण, भारत र चीनका प्राविधिक टोली तथा सुरुङ विज्ञहरूको निरन्तरको प्रयासपछि सुरुङभित्र अक्सिजन र हावा पठाउने प्वाल (ड्रिल) खन्दै एक्सेस टनेलसम्म पहुँच पुर्‍याएर उनीहरूलाई बाहिर निकालिएको हो।

सुरुङभित्र अझै अन्य कर्मचारी तथा प्राविधिकहरू पनि फसेको आशङ्का गरिएकाले उद्धार टोलीले बाँकी रहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र रूपमा जारी राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *