राहत र उद्धारसँगै पुनर्निर्माणमा जोड दिनुपर्छ: केपी ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारसँगै पुनर्निर्माणका कामलाई पनि जोड दिएर अघि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्को यस कठिन घडीमा सबै पक्षले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीले प्रभावित क्षेत्रमा प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा दाताहरूबाट भइरहेको सहयोगको प्रशंसा गरे। बाढीपहिरोले क्षति पुर्याएका स्थानमा तुइन, झोलुङ्गे पुल तथा सडक निर्माणका काम तत्काल अघि बढाउनुपर्ने उनको भनाइ थियो।
बागमती प्रदेश सरकारले तुइन तथा झोलुङ्गे पुल निर्माणमा देखाएको सक्रियताको प्रशंसा गर्दै उनले अन्य प्रदेश सरकार र दाताहरूलाई पनि सहयोग जारी राख्न आग्रह गरे।
यसैगरी, अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहतमा नेपाली सेना र नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। यद्यपि, सेनालाई कुनै पनि राजनीतिक विवादमा मुछ्ने वा मुछिने अवस्था आउन नहुनेमा उनले सचेत गराए।
नेपाली सेनालाई राजनीतिक विवादबाट पृथक, निर्विवाद र निष्कलङ्क राख्दै नेपाली जनताको भरोसायोग्य राष्ट्रिय सुरक्षा संस्थाका रूपमा कायम राख्नुपर्नेमा उनले जोड दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment