धेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साह

डिसी नेपाल
१९ भदौ २०८३ १२:३४

काठमाडौँ। रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी पसेपछि आफ्ना सहकर्मीहरूको ज्यान जोगाउन खटिएका मेकानिकल फोरमेन सञ्जय साह अन्ततः आफैँ सुरुङभित्र थुनिन पुगेका थिए।

बाढी आएको १० दिनपछि नेपाली सेनासहितको संयुक्त टोलीद्वारा शुक्रबार बिहान जीवितै उद्धार गरिएका साहले उद्धारकर्मीहरूसँग आफू फस्नुको मुख्य कारण अरूलाई बचाउने प्रयास रहेको खुलासा गरेका छन्।

सुरुङभित्र कन्ट्रोल रुम अपरेटरको जिम्मेवारीमा रहेका साहले विपद्का बेला अरूलाई छाडेर एक्लै भाग्न नसकेको बताए। ‘विपद् आएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो,’ नेपाली सेनाका अधिकारीहरूसँगको कुराकानीमा उनले भने, ‘मैले सबै सहकर्मीहरूलाई तुरुन्तै भाग्न आग्रह गरेँ। सबैलाई सुरक्षित निकाल्ने क्रममा मेरो समय बित्यो र म आफैँ बाहिर निस्किन नपाई भित्रै फसेँ।’

साहका अनुसार बाढी आउँदा सुरुङभित्र करिब ४० देखि ४५ जना कार्यरत थिए। टनेल लामो भएको र भित्र पानी पसेकाले अझै धेरै मानिसहरू पावर हाउसभित्र फसेको हुनसक्ने उनले आशङ्का व्यक्त गरेका छन्। १० दिनसम्म अँध्यारो सुरुङभित्र महामृत्युञ्जय मन्त्र जप गर्दै समय बिताएका साहले जीवितै उद्धार हुनुलाई आफ्नो ‘दोस्रो जीवन’ भनेका छन्।

प्रारम्भिक स्वास्थ्य परीक्षणमा साहको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उनले दिएको जानकारीका आधारमा सुरक्षा निकायले सुरुङभित्र फसेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *