गृहमन्त्री गुरुङको स्पष्टीकरण-हामी अनलाइनबाटै हरेक ४ घण्टामा कमान्ड सम्हालिरहेका छौं
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले केही व्यक्तिहरूले आफूलाई पुरानै कार्यशैली अपनाउन दबाब दिएको देख्दा अचम्म लागेको बताएका छन्।
विपद्को समयमा गृहमन्त्रीले नीतिगत कामको सट्टा ‘स्टन्ट’ देखाएको भन्दै आलोचना भइरहेका बेला गुरुङले नेतृत्वलाई मन्त्रालयको मन्त्रीस्तरीय कुर्सीमा बसेर फाइल र कागजात समात्ने कुरासँग मात्र जोडेर हेर्नु ‘पुरानो युगको सोच’ (Generation Gap) भएको टिप्पणी गरेका छन्।
हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् उच्चपदस्थ सुरक्षा अधिकारीहरूको उपस्थितिमा ‘कमान्ड सेन्टर’ पूर्ण रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै उनले भनेका छन्, “चिन्ता लिनु पर्दैन, हामी अनलाइनबाटै हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ। टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी भइरहेको छ।”
वर्षौँदेखि फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दा देशले सही परिणाम भोग्न नपाएको उनको तर्क छ। उनी भन्छन्, “उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।”
प्रक्रियाभन्दा पनि नतिजालाई प्राथमिकता दिन आग्रह गर्दै गृहमन्त्री गुरुङले थपे, “म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्दछु।”
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। उक्त विपद्पछि सुरक्षा निकाय, सेना, प्रहरी तथा विदेशी प्राविधिक टोलीसमेतको सहभागितामा सुरुङ र बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा खोज, उद्धार तथा राहत कार्य अघि बढाइएको छ।
यस्तो संवेदनशील घडीमा प्रविधिको अधिकतम प्रयोग गर्दै अनलाइन कमान्ड र डिजिटल माध्यमबाट छिटो निर्णय लिई उद्धार कार्यलाई प्रभावकारी बनाइएको गृहमन्त्री गुरुङको दाबी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment