माथिल्लो त्रिशूली-१ मा ६ जनाको शव फेला, ५५१ अझै बेपत्ता

डिसी नेपाल
२० भदौ २०८३ ६:३०

काठमाडौं। बाढीले ठूलो क्षति पुर्‍याएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ तथा हेडवर्क्स क्षेत्रमा शुक्रबार पनि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रह्यो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार खोजीका क्रममा सल्लेटार क्षेत्रबाट ६ जनाको शव फेला पारिएको छ। पहिचान खुल्न नसक्ने र निकै क्षतविक्षत अवस्थामा रहेका ती शवहरूलाई नेपाली सेनाको टोलीले बट्टार पुर्‍याएको छ।

शुक्रबार दिनभर आयोजनाको हेडवर्क्स तथा सुरुङ क्षेत्रमा उद्धार टोली परिचालन गरिएको थियो। उद्धार कार्यलाई प्रभावकारी बनाउन कोरियाली प्राविधिक टोली, शेर्पा, सर्च तथा ड्रोन टोलीसहित विशेष क्यामेरा र तालिमप्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ।

कम्पनीका अनुसार सुरुङभित्र जमेको पानी बाहिर फाल्न निरन्तर ‘वाटर पम्प’ चलाइएको छ भने १५ वटा ठूला उद्धार मेसिन तथा उपकरणहरू आयोजना स्थल पुर्‍याइएको छ। शनिबारदेखि उद्धार कार्यलाई अझ तीव्र बनाउने प्रवर्द्धक कम्पनीले जनाएको छ।

बाढी आउनुअघि आयोजनास्थलमा कूल १ हजार ४३३ जना श्रमिक तथा कर्मचारी कार्यरत थिए। जसमध्ये हालसम्म ८७६ जनाको सकुशल उद्धार गरिएको छ भने ५५१ जना अझै सम्पर्कविहीन रहेका छन्।

उद्धार कार्यलाई थप गति दिन शुक्रबार नै प्रवर्द्धक कम्पनी तथा निर्माण कम्पनीहरू (डोसान र पावर चाइना) को व्यवस्थापन टोलीले गृह सचिव केदारनाथ शर्मासँग भेटवार्ता गरेको छ।

भेटमा टोलीले आयोजना स्थलको वर्तमान अवस्थाबारे जानकारी गराउँदै थप भारी उपकरण र मेसिनहरू लैजानका लागि मार्गप्रशस्त र सहजीकरण गरिदिन आग्रह गरेको थियो। जवाफमा गृह सचिव शर्माले आवश्यक उपकरणहरू तत्कालै घटनास्थलतर्फ पठाउन मन्त्रालयका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *