बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, यात्रा गर्दा सचेत रहन प्रहरीको आग्रह
काठमाडाैं। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले शनिबार बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सर्वसाधारण तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।
अवरोधका कारण बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ, जहाँ बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी छाड्ने निर्णय गरिनेछ।
त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा आएको बाढीले गर्दा त्रिशुली-मैलुङ्ग-स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको छ। रात्रिकालीन यात्रामा थप जोखिम हुने भएकाले शिवपुरी गाउँपालिका-८ स्थित घट्टेखोला टोखा-छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ।
यद्यपि, चन्द्रागिरि नगरपालिका-२ चिसापानीमा खसेको पहिरो पन्छाएर सडक भने एकतर्फी रूपमा सुचारु गराइएको छ।
अन्य धेरैजसो मुख्य राजमार्गहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा अवरुद्ध नै रहने प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालय वा सडक निकायमार्फत सडकको अवस्थाबारे बुझ्न आग्रह गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment