भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, ४,९९६ अझै बेपत्ता
काठमाडाैं। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते बिहान ११:०० बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्यांक सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म १,३५५ जनाको शव (विभिन्न मानव अंगसहित) फेला परेको छ।
जसमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको हो। हालसम्म ९८ वटा शवको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ।
यसैगरी, करिब ४,९९६ जना अझै सम्पर्कविहीन रहेका छन्। जसमध्ये रसुवाबाट प्राप्त तथ्यांक अनुसार करिब १,९६७ जना, नुवाकोटबाट करिब २,३४० जना नेपाली नागरिक, विभिन्न क्षेत्रका सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र करिब ५८९ जना विदेशी नागरिक रहेका छन्।
विपद्पश्चात् हालसम्म १३,३९६ जनाको जीवितै उद्धार गरिएको छ। घाइते भएका ६,६७२ जनाको उपचार गरिएको छ, जसमध्ये नेपाली सेनाबाट ३,३७९ जना, सशस्त्र प्रहरीबाट २,९७० जना र विभिन्न अस्पतालहरूमा ३२३ जना (२२८ जना डिस्चार्ज भइसकेका) को उपचार भएको छ।
प्रभावितहरूका लागि सञ्चालित ३९ वटा होल्डिङ सेन्टरमा हाल ३,५३३ जना बसोबास गरिरहेका छन्। जसमध्ये नुवाकोटमा २,६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन्। उद्धार र राहत कार्यका लागि हालसम्म २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
उद्धारका लागि नेपाली सेनाद्वारा १,१५७ पटक, काठमाडौंबाट निजी क्षेत्रमार्फत १२९ पटक र सशस्त्र प्रहरी बलद्वारा १९३ पटक गरी व्यापक हेलिकप्टर उडान गरिएका छन्।
भौतिक पूर्वाधारतर्फ, रसुवामा ७८%, नुवाकोटमा ९६.७% र धादिङमा ९९.८% घरधुरीमा विद्युत आपूर्ति सुचारु भइसकेको छ। सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ टावर र एनसेलका ७८ मध्ये ७६ टावर पुनः सञ्चालनमा आइसकेका छन्।
नेपाल सरकारले नगद राहतस्वरूप रसुवा र नुवाकोट जिल्लालाई १-१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। भदौ २१ गते रसुवामा १ हेलिकप्टर र ४ ट्रकमा खाद्यान्न, जेनेरेटर, हाइजिन किट र स्टुडेन्ट किट ढुवानी गरिएको छ।
प्रभावित क्षेत्रमा ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल, १३ हजार लिटर हवाई इन्धन र ४५७ सिलिन्डर ग्यास मौज्दात पठाइएको छ। मनोसामाजिक परामर्शका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जना जनशक्ति प्रभावित क्षेत्रमा खटाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment