सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

डिसी नेपाल
२३ भदौ २०८३ ६:४३

काठमाडौं।  सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौँ चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परेका छन्।

बैतडी सुर्नया गाउँपालिका-७ घर भएका मडैलाई नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिको घडीमा खुसी व्यक्त गर्ने जस्ता गैरजिम्मेवार भिडियो सामग्री बनाई फेसबुक रिलमा ‘अपलोड’ गरेका थिए।

पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत गलत सूचना, कपोलकल्पित अफवाह, भ्रामक समाचार र विद्वेषपूर्ण सामग्री प्रसारण गर्नेहरूविरुद्ध नेपाल प्रहरीले आक्रामक रूपमा कारबाही प्रक्रिया अगाडि बढाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले संवेदनशील घडीमा पीडामा रहेका नागरिकले व्यक्त गरेका दुःख र विचारमाथि अनावश्यक टिप्पणी गरी होच्याउने तथा थप पीडा दिने तत्वहरूको सूक्ष्म निगरानी भइरहेको जानकारी दिए।

प्रवक्ता काफ्लेका अनुसार त्यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन निकै कडा र निर्मम रूपमा प्रस्तुत भइरहेको छ।

बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको यस दुःखद् परिस्थितिमा विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता बोकेका तत्त्वहरूले हृदयविदारक एवं विभत्स तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेर जनमानसमा त्रास फैलाउने र थप पीडा दिने गतिविधि गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी पूर्ण रूपमा सचेत र सक्रिय भएको प्रहरीको भनाइ छ।

प्रहरीको पछिल्लो तथ्यांकअनुसार फेसबुकमा १६८, टिकटकमा चार र इन्स्टाग्राममा एक गरी कुल १७३ वटा गलत सूचना र अफवाह फैलाउने समाचार सामग्रीहरू प्रसारण भएको पाइएको छ।

त्यसमध्ये प्रहरीको तीव्र साइबर सक्रियताका कारण फेसबुकबाट ७९ र टिकटकबाट चार वटा त्यस्ता भ्रामक सामग्रीहरू सामाजिक सञ्जालबाट हटाइसकिएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए।

यस प्रकारका अनलाइन गतिविधिको निरन्तर अनुगमन गरी त्यस्ता सामग्रीहरू तत्कालै हटाउन र अराजक गतिविधिलाई रोक्न साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय विशेष समिति गठन गरिएको छ।

उक्त विशेष समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान तथा अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरेर कडा कारबाही अगाडि बढाउनेछ।

प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यका अनुसार सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र भ्रामक समाचार प्रसारण गर्ने जो-कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन समितिले तीव्रताका साथ काम गरिरहेको छ।

सामाजिक सञ्जालमा अन्जानमा पोस्ट गरिएका वा सेयर गरिएका सामग्रीहरूको गाम्भीर्यता हेरेर सर्वसाधारणलाई सचेत गराई त्यस्ता पोस्टहरू हटाउन लगाइएको जानकारी पनि आचार्यले दिए।

यसैगरी विपद्को समयलाई मौकाका रूपमा प्रयोग गरी हुनसक्ने विभिन्न अपराध, गलत सूचनाको प्रवाह तथा राहत सङ्कलनका नाममा नागरिकलाई ठगी गर्ने गिरोहलाई नियन्त्रण गर्नसमेत प्रहरी उत्तिकै सक्रियताका साथ परिचालन भएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले बताउँछन्।

सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना, अफवाह र भ्रामक समाचारहरूप्रतिको निगरानीलाई अझ तीव्र र प्रभावकारी बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने जुनसुकै तत्त्वलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सधैँ कटिबद्ध रहेको प्रवक्ता काफ्लेको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *