जेनजी आन्दोलनमा घुसपैठ गराउने योजनाकारलाई कारबाही गर्नुपर्छ : शङ्कर पोखरेल

डिसी नेपाल
२३ भदौ २०८३ ९:३९

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्ष भएको ‘जेनजी आन्दोलन’का क्रममा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन घुसपैठ गराउने तथा त्यसको योजना बनाउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइते र सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै पोखरेलले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

महासचिव पोखरेलले युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने तथा सामाजिक सञ्जालको निर्बाध प्रयोग गर्न पाउने माग जायज रहेको बताएका छन्। उनका अनुसार यी विषय नयाँ पुस्ता मात्र नभई सबैको साझा सरोकारका विषय हुन्।

तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको दाबी गर्दै पोखरेलले नेपालमा सामाजिक सञ्जाल सञ्चालनका लागि दर्ता हुनुपर्ने नीति अघि सारिएको विषय स्पष्ट रूपमा बुझाउन नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उल्लेख गरेका छन्।

उनले शान्तिपूर्ण रूपमा सुरु भएको युवाहरूको प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरेका छन्।

पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनु नै जेनजी आन्दोलनको वास्तविक भावनाको सम्मान हुने बताएका छन्।

उनले वर्तमान सरकार जेनजी आन्दोलनको भावना र युवाहरूका जायज मागअनुसार अघि बढ्न नसकेको आरोपसमेत लगाएका छन्। आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा सरकार चलेको उनको दाबी छ।

महासचिव पोखरेलले अहिलेको प्रमुख आवश्यकता नवयुवाको भावनाको सम्मान, मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु रहेको बताएका छन्।

एमाले नवयुवाका जायज माग सम्बोधन गर्न उनीहरूसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै पोखरेलले आफ्नो पार्टी हिजो पनि नवयुवाको पक्षमा रहेको, आज पनि रहेको र भविष्यमा पनि उनीहरूको पक्षमा रहने दाबी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *