बाढी प्रभावित नुवाकोट र रसुवामा हैजाविरुद्धको खोप अभियान सुरु गरिँदै

डिसी नेपाल
२३ भदौ २०८३ ११:२५

काठमाडौं। बाढी प्रभावित क्षेत्रहरूमा हैजा संक्रमणको जोखिम उच्च बनेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोपसहितका आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन र वितरणलाई तीव्र बनाएको छ।

मन्त्रालयले मङ्गलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप पठाएको छ। खोपसँगै १० थान ‘फ्रिज-फ्री भ्याक्सिन क्यारियर’, ०.६ लिटर क्षमताका २२० थान ‘आिस प्याक’ र ८ थान ‘फ्रिज ट्याग’ पनि पठाइएको छ।

यसैगरी अर्को प्रभावित जिल्ला रसुवामा यसअघि नै हेलिकप्टरमार्फत खोप पुर्‍याइसकिएको छ। रसुवामा भने पर्सी बिहीबारदेखि नै हैजाविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्न लागिएको हो।

अविरल बाढीका कारण स्थानीय स्तरमा खानेपानी तथा सरसफाइ प्रणाली भत्किँदा हैजा लगायत अन्य पानीजन्य सरुवा रोगको संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेको छ।

सोही जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा संक्रमण रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *