जेनजी शहीद दिवसमा गृहमन्त्रीसामु आक्रोश: न्याय नपाएको भन्दै नाराबाजी गर्ने घाइते युवक प्रहरी नियन्त्रणमा

डिसी नेपाल
२३ भदौ २०८३ १४:०२

काठमाडौं। नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि आयोजित ‘जेनजी शहीद स्मृति दिवस’ कार्यक्रमका क्रममा होहल्ला र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले आन्दोलनका एक घाइते युवकलाई नियन्त्रणमा लिएको छ।

गृहमन्त्री सुदन गुरुङसहित मन्त्रीहरू र संसद् सदस्यहरूको उपस्थिति रहेको सो कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका एक शहीदकी आमाले आफूहरूले अझै न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्। त्यस क्रममा त्यहाँ खटिएका भोलेन्टियरहरूले उनलाई रोक्न र चुप लाग्न दबाब दिएका थिए।

भिडबाट शहीदकी आमालाई चुप गराउन खोजिएपछि कार्यक्रममा उपस्थित ती युवक महिलाको समर्थनमा उत्रिएका थिए। “आफन्त गुमाएका पीडितले आफ्ना कुरा राख्न पाउनुपर्छ” भन्दै उनले गृहमन्त्री र सरकारको कार्यशैलीको कडा आलोचना गर्न थालेपछि स्थिति केही बेर तनावग्रस्त बनेको थियो।

गृहमन्त्रीलक्षित नाराबाजी र होहल्ला बढेपछि नगर प्रहरी तथा नेपाल प्रहरीको टोलीले ती युवकलाई तत्कालै नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेर लगेको थियो। प्रहरी नियन्त्रणमा पर्ने क्रममा ती युवकले आफू २०८२ को जेन्जी आन्दोलनका क्रममा गोली लागेर घाइते भएको दाबी गरेका थिए। नियन्त्रणमा लिइएका युवकको परिचय भने प्रहरीले खुलाएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *