नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा: राष्ट्रिय सभा गृह बुकिङका लागि पत्र
काठमाडौं। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको औपचारिक तयारी तीव्र पारेको छ। महाधिवेशनको उद्घाटन तथा मुख्य कार्यक्रमहरू सञ्चालन गर्न पार्टीले काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहको हल तथा परिसर उपलब्ध गराइदिन पत्राचार गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र लेख्दै असोज १५ देखि असोज २० गतेसम्म ६ दिनका लागि सम्पूर्ण संरचना बुकिङ गरिदिन अनुरोध गरेका हुन्।
कांग्रेसले १५औं महाधिवेशन आगामी २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाडौँमा आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
सोही निर्णयअनुसार महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा उपलब्ध गराउन आग्रह गरिएको हो।
पार्टीद्वारा पठाइएको पत्रमा महाधिवेशन जस्तो महत्त्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमलाई सफल र व्यवस्थित रूपमा आयोजना गर्न राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment