बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित विद्यालय तथा शैक्षिक पूर्वाधारको स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री पोखरेल नेतृत्वको टोलीले मंगलबार नुवाकोटका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाको अनुगमन गर्दै क्षतिको अवस्था र विद्यार्थीको पठनपाठनबारे जानकारी लिएको हो।
टोलीले शिक्षा विकास तथा समन्वय एकाइ, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालय, सामुदायिक बहुउद्देश्यीय भवन, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा बाढीबाट विद्यालय भवन तथा पूर्वाधारमा भएको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको सिकाइमा परेको प्रभावबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरिएको थियो। प्रभावित विद्यालय र विद्यार्थीको पठनपाठन सहज बनाउन आवश्यक पहल गर्ने मन्त्री पोखरेलले बताएका छन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरण छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment